क्यालिफोर्नियाको डढेलोबाट सिक्न पर्ने महत्त्वपूर्ण सिकाइहरू – डा. ऋषि बस्ताकोटी के भन्छन्?

नयाँ वर्ष २०२५ को सुरुवातसँगै दक्षिणी क्यालिफोर्नियामा भीषण डढेलोको प्रकोप देखा पर्‍यो। अत्यधिक सुक्खा मौसम र प्रज्ज्वलनशील वनस्पतिहरूको कारणले यो क्षेत्र डढेलोको उच्च जोखिममा रहँदै आएको छ। यस वर्ष लामो खडेरी र १०० माइल प्रतिघण्टाको गतिमा आएको सान्टा आना हावाले गर्दा आगलागी नियन्त्रणबाहिर गयो र ठूलो विनाश निम्त्यायो। लस एन्जलस र वरपरका क्षेत्रमा लागेको यस डढेलोले ३८,००० एकडभन्दा बढी जमिनमा फैलिँदै १०,००० भन्दा बढी भवनहरू नष्ट गरेको छ। जनवरी १४ सम्ममा कम्तीमा २५ जनाको ज्यान गएको छ भने लाखौं मानिसहरू विस्थापित भएका छन्।

 

धनजन र पर्यावरणीय क्षतिको यकिन आकलन हुन अझै बाँकी छ। प्रकोपको पूर्वतयारी र व्यवस्थापनमा अमेरिका सामान्यतया मजबुत देखिए पनि यस पटकको डढेलोसँग लड्ने संयन्त्र प्रभावकारी देखिएन भन्ने जनगुनासोहरू आएका छन्। आगोका लप्कासँगै डढेलोको धुवाँ क्यालिफोर्नियाको आकाशमा मडारिएको छ। यसले विश्वभर डढेलोको प्रकोपबाट कसरी जोगिने भन्ने बहसको ढोका खोलेको छ। दक्षिणी क्यालिफोर्नियाको यो डढेलोपछिको सिकाइ के हो? डढेलो नियन्त्रणमा कहाँ के कमजोरी भयो? पूर्वतयारी कस्तो हुनुपर्थ्यो? सरकारको दायित्व के हुनुपर्छ? यस्ता अनेक विषयमा तरंगहरू छोडेको छ।

डढेलोको मूल कारण: जलवायु परिवर्तन र कमजोर व्यवस्थापन

क्यालिफोर्निया डढेलोको हिसाबले जोखिमयुक्त स्थान मानिन्छ। यहाँसम्म कि क्यालिफोर्नियामा निश्चित क्षेत्रतिर वर्षैभरि ‘आगलागीको मौसम’ भनेर सजग रहनु आवश्यक छ। धेरैजसो विज्ञहरूको विश्लेषणमा जलवायु परिवर्तन र अवैज्ञानिक भू–उपयोग प्रणाली तथा स्रोतको कमजोर व्यवस्थापन नै क्यालिफोर्नियाको यो डढेलोको मूल कारण हो भन्ने छ। तापक्रमको वृद्धि, लामो खडेरी, हराउँदै गएको वर्षाका कारणले क्यालिफोर्नियाका जंगलहरू डढेलोको बढ्दो जोखिममा छन्। जसै तापक्रम बढ्छ, वनस्पतिहरू सुक्दै जान्छन् र ती आगोका लागि प्रज्ज्वलनशील ऊर्जा बन्छन्। जब खडेरी लम्बिँदै जान्छ, तब आगोको जोखिम बढ्दै जान्छ। यो कुरा क्यालिफोर्नियाले भोग्दै आएको छ।

क्यालिफोर्निया डढेलोको असर

क्यालिफोर्नियाको यो डढेलो इतिहासमा आइलागेको एउटा भयानक विपद् हो। यसबाट हजारौं एकड जंगल जलेको छ। बस्तीमा आगो पसेपछि हजारौं घर र संरचना खरानी भएका छन्। अकल्पनीय किसिमले मानवीय क्षति भएको छ। २५ जनाको मृत्यु भइसकेको मात्र छैन, दर्जनौं मानिस सम्पर्कविहीन भएका छन्। लाखौं मानिस विस्थापित भएका छन्। एक प्रकारले हाहाकार मच्चिएको छ। गाँस, बासको संकट, घाइतेहरूको उपचारको अभाव, मानिसहरूमा दीर्घकालीन मनोसामाजिक असर टड्कारो रूपमा देखिएको छ। खानेपानी, यातायात, स्कुल आदि संरचनाहरू ध्वस्त भएका छन्। द गार्जियनको हालसालैको टिप्पणीअनुसार २०० बिलियनभन्दा बढीको आर्थिक क्षति आंकलन गरिएको छ।

आर्थिक रूपमा विपन्न, अमेरिकी मूलप्रवाहबाहेक अन्य वर्णका समुदाय, वृद्ध, महिला र केटाकेटीहरू त्यसमा पनि तुलनात्मक रूपमा बढी जोखिममा परेका छन्। धुवाँका कारण सिर्जित वायु प्रदूषण र त्यसको असर त ठूलै समस्याको रूपमा छँदैछ। जनजीवन ठप्प हुनु र असीमित आर्थिक क्षति पुग्नु त्यसबाट उठ्न र पुनर्निर्माणको व्ययभार पनि कम छैन। डढेलोमा घर र व्यवसाय गुमाएकाहरू अब यही महँगो र आगोको जोखिम भएको ठाउँमा बस्न सकिएला या नसकिएलाको मनस्थितिमा पुगेका छन्। जैविक विविधताको ह्रास र परिस्थितीय सन्तुलनमा पुगेको असर डढेलोले पुर्‍याएको क्षतिको अर्को पाटो हो जुन आकलन हुनै बाँकी छ।

अबको बाटो र विश्वलाई पाठ

डढेलोलाई सकेसम्म नियन्त्रणमा लिनु, उद्धारमा लागि पर्नु, थप मानवीय क्षति हुन नदिनु र पुनस्र्थापनामा जुट्नु तत्कालका लागि स्थानीय हिसाबले दक्षिणी क्यालिफोर्नियाको प्राथमिकता हो। अमेरिकाको क्यालिफोर्नियामा परेको संकटमा मानवीय र भाइचाराको हिसाबले ऐक्यबद्धता जनाउनु र सकेको सहयोग गर्नु विश्व समुदायको कर्तव्य हो। यसका अतिरिक्त क्यालिफोर्नियाको डढेलो विश्वका लागि अझ भनौं नेपालजस्तो जलवायु परिवर्तन र मौसमी प्रकोपका असर बारम्बार भोगिरहेका र पूर्वतयारीमा ध्यान पुर्‍याउन नसकेका राष्ट्रहरूका लागि महत्त्वपूर्ण शिक्षा हो।

यस पटकको क्यालिफोर्नियाको डढेलोबाट सिक्न पर्ने महत्त्वपूर्ण सिकाइहरू यस प्रकार छन्:

जलवायु परिवर्तन र अनुकूलन रणनीति: क्यालिफोर्नियाको डढेलो जलवायु परिवर्तनको बढ्दो असरको एक ज्वलन्त उदाहरण हो। नेपाल यसै पनि बदलिँदो मौसमी प्रक्रिया, बढ्दो तापमान र बारम्बार आइरहने प्राकृतिक प्रकोपबाट प्रभावित छँदैछ। विषम खालको मौसम, पग्लिँदै गएका हिमनदीहरू, मनसुनको घनघोर वर्षाको प्रकृति हेर्दा नेपालमा बाढी र आगलागीको जोखिम बढ्न थालेको महसुस हुन्छ। जलवायु परिवर्तनका असरबाट जोगिन नेपालले दिगो कृषि, वन व्यवस्थापन, पानी व्यवस्थापन, भौगोलिक र भौगर्भिक अवस्था सुहाउँदो विकास निर्माण अवलम्बन गर्न जरुरी छ। भोलि पछुताउनुभन्दा अनुकूलनको रणनीति भोलि होइन, आजै सुरु गर्न जरुरी छ।

अन्नपूर्ण पोस्टमा प्रकाशित डा बस्ताकोटीको क्यालिफोर्निया वायल्डफायर लेख बाट ।

डा. ऋषि बस्ताकोटी गोरखा जिल्लाको आँपपिपलमा जन्मनु भएका नेपाली साहित्यकार र वातावरणीय नीति विज्ञ हुनुहुन्छ। हाल उहाँ संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यको केरी सहरमा बसोबास गर्दै आउनु भएको छ। र अमेरिकी सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रुपमा कार्यरत हुनुहुन्छ । 

 

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top