अमेरिकामा ट्रकको आम्दानी र खर्चको लेखाजोखा

धेरैको सपनाको देश अमेरिका । विश्वका धनि मध्येको एउटा देश अमेरिका जहाँ लाखौं नेपालीहरु आफ्नो पसिना बगाइरहेका छन । कोही रेस्टुरेन्ट ब्यवसायमा छन् त कोही विद्यार्थी छन् अनि कोही ट्रक ब्यवसायमा छन् कोही आइटिमा त कोही डाक्टर नर्स र इन्जिनियर पनि छन् ।

अमेरिका आउने सबैको सपना साकार हुन भने त्यति सजिलो छैन । अमेरिकामा ट्रक ब्यवसाय हेर्दा सुन्दा मनग्गे आम्दानी हुने जस्तो देखिन्छ तर यस भित्र लुकेका अनेकौँ दुःख , सुटुक्क भईपरी आउने खर्च पनि मनग्गे नै हुन्छन् । ट्रकको इन्धन , बिमा , मर्मत , टोलको खर्च , अप्रत्याशित दुर्घटना आदि ।
१० बर्ष अगाडि अमेरिका आउनुभएका टेक्सस निवासी राज कार्कि सँग ट्रक ब्यवसायमा लाग्दाको तिता मिठा अनुभुती हामीले खोतल्ने प्रयास गरेका छौँ । राज कार्की आफ्नो परिवार सहित अमेरिकाको टेक्ससमा बस्नुहुन्छ । आफैँ साहु आफैँ अपरेटर भएर विभिन्न राज्यहरुमा सामान ढुवानी गर्नुहुन्छ । ट्रकमा सामान राख्ने उतार्ने सम्पूर्ण काम गोदाम मालिकले नै गर्छन् । ठाउँ ठाउँमा पेट्रोल पम्प हुन्छन् जसलाई ग्यास स्टेशन भनिन्छ । हरेक स्टेशनमा खाने पिउने सुबिधा सम्पन्न रेस्टुरेन्ट, मिनी डिपार्टेमेन्ट स्टोर र स्नान गृह हुन्छन् ।

पाँच दिन ट्रकमा टेक्सस्को ड्यालस, लुजियाना, मिसिसिपी लगायत ४ हजार किलोमीटर भन्दा बढी राज कार्कि सँगै ट्रकको यात्रा अनुभव गर्नुभएका भरत गैरेको पनि रमाइलो अनुभुती छ । नेपालबाट परिवार भेट्न भिजिट भिसामा आउनुभएका गैरे भन्नुहुन्छ – ‘खान, बस्न, सुत्न सबै राम्रो सुबिधा हुँदो रहेछ । हरेक स्टेट स्टेट चाहार्दै जानुको अलग्गै अनुभव भयो । यो पटक साथी राज कार्कीसँगको ट्रक यात्रामा मैले मुख्यत अमेरिकाका दक्षिणी राज्यहरु घुम्ने मौका पाएँ । ट्रकभित्र बसेर तल गाडी गूडेको हेर्दाको आनन्द बिर्सनै नसकिने लाग्यो । लगातार एकनासले घन्टौँसम्म सिधा राम्रो बाटोमा गुडिरहन पाउनु गज्जबको कुरा हो । फ्रिज, माइक्रोवेभ समेत ट्रकभित्रै हुँदा खाने कुराको अभाव त्यती नहुने रहेछ । रोकेर मनोरम दृश्य नियाल्दै हिँड्दा रौनक छुट्टै हुने रहेछ । हाम्रो देश नेपालमा पनि यस्तै हुनेथियो भने?’

राज कार्कीलाई भने आनन्द भन्दा पनि कहिले ठाँउमा पुगेर लामो बिश्राम लिनु जस्तो हुन्छ । बस्ने, खाने , सुत्ने सबै ट्रकमा नै भएता पनि आफ्नो घरमा जस्तो चाहिँ नहुने रहेछ– कार्कीको दुखेसो छ । उहाँका अधिकांश दिन ट्रकमा नै बित्छन् । कार्की भन्नुहुन्छ – ‘मेरो सम्पूर्ण काम र घर दुवै यहि ट्रक हो । घरपरिवार सँग बिताउने तेती धेरै समय हुँदैन तर पनि ठूलो कम्प्लेन केही छैन, आफैँले बेसाएको दुख हो । केटाकेटि र परिवारको भविष्य अझै उज्वल होला भनेर अहिले उमेर हुँदा दुख नगरे कहिले गर्ने? गाडी चलाएर एक राज्यबाट अनेक राज्य पार गर्दैरहनुपर्ने ट्रक जीवन रमाइलै देखिएपनि कतिपय कुराहरुमा दुख पनि पाइन्छ ।

हरेक राज्यको आ–आफ्नै यातायात कानुन हुन्छन्, ती सबैको जानकारी र पालना नगरे प्रहरिले पुल ओभर गर्छ, टिकट दिन्छ, जरिवाना लगाउँछ । ठूलो गल्ति छ भने त अदालतनै धाउनुपर्ने पनि हुन्छ । दैनिक १२ घण्टा भन्दा बढी ट्रक चलाऊन नपाईने पनि नियम छ । कानुन नजान्दा नसोचेको दुःख पनि पाइन्छ । ’

वास्तवमा ट्रक ब्यवसाय अमेरिकामा धेरै नेपालीहरुले गरेको भए पनि कतिपयले लहैलहैमा लागेर गरेका पनि छन् । आम्दानीको तुलनामा खर्चको हिसाब नगरी ट्रक व्यवसायमा आउँदा कतिको विजोग हुन्छ । ट्रकमा नदेखिने खर्चहरु बारम्बार आइरहन्छन् । कहिले काँही त भईपरी आउने खर्चले नसोचेको क्षति नै ब्योहोर्नु पर्ने हुन्छ । ‘एउटा सानो रुखको हाँगा हावाले उडाएर ट्रकमा लाग्नाले ६ हजार डलर क्षती भयो ।’ यसका अलावा परिवारसँग सधैँ बस्न नपाउनु अर्को नकारात्मक पक्ष हो ।

कार्कीको सुझाव छ – जो कोही पनि अमेरिकामा ट्रक चलाऊने वा ट्रक किन्ने सोचमा हुनुहुन्छ भने उक्साहटमा लागेर भन्दा एक पटक राम्ररी सोचेर, खर्च आम्दानीको हिसाब गरेर, पारिवारिक समय आदि विचार गरेर मात्र अगाडि बढ्दा राम्रो हुन्छ । आम्दानी छ तर आम्दानी गर्न लाग्ने खर्च र नकारात्मक पक्षलाई नजरअन्दाज गरेर हाम फाल्नु हुँदैन ।

तपाईंको आवाजलाई विश्वसम्म पुर्याउने एउटा प्लेटफर्म

NepalTalks अमेरिकाबाट संचालित डिजिटल प्ल्याटफर्म हो । जसले अमेरिकामा रहेका नेपाली समुदायका कथा, अनुभव, र सफलतालाई विश्वमाझ पुर्याउँछ। हाम्रो उद्देश्य हो:

  • सांस्कृतिक प्रवर्द्धन: नेपाली भाषा, कला, र संस्कृति जोगाउने।
  • व्यवसाय प्रवर्द्धन: नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने।
  • समुदाय निर्माण: नेपाली डायस्पोराका आवाज र अनुभवहरूलाई जोड्ने।

हामी अन्तर्वार्तापोडकास्टभिडियो स्टोरीज, र लेखहरू मार्फत तपाईंको व्यवसायलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। मन परेमा लाइक, सेयर, र सब्सक्राइब गर्न नबिर्सनुहोस्।

Scroll to Top